सरकारले कक्षा १ देखि ५ सम्मका आन्तरिक परीक्षा हटाउने निर्णय गरेसँगै नेपालको आधारभूत शिक्षा परीक्षा केन्द्रित संस्कृतिबाट सिकाइ केन्द्रित संस्कृतितर्फ सर्ने ऐतिहासिक मोडमा उभिएको छ। तर यो निर्णयलाई केवल “परीक्षा हटाइयो” भनेर बुझ्नु अधुरो हुन्छ। बालबालिकाको सिकाइलाई डर, घोकाइ, अंक र प्रतिस्पर्धाको दबाबबाट बाहिर निकालेर बुझाइ, अभ्यास, सहभागिता, व्यवहार र निरन्तर प्रगतिका आधारमा हेर्नु यसको वास्तविक अर्थ हो।अब मूल प्रश्न परीक्षा रहने कि नरहने भन्ने होइन, विद्यार्थीले साँच्चिकै सिके कि सिकेनन् भन्ने हो।
नेपाल सरकारको यो निर्णयसँगै धेरै अभिभावक र केही शिक्षकमा एउटा स्वाभाविक प्रश्न उठ्न सक्छ,“परीक्षा नै नभएपछि विद्यार्थीले पढ्छन् कसरी?” यो चिन्ता अस्वाभाविक होइन, किनकि हाम्रो विद्यालय संस्कृतिमा परीक्षा, अंक र स्थानलाई नै पढाइको मुख्य प्रमाण मान्ने प्रवृत्ति लामो समयदेखि चलिआएको छ।परीक्षा हटाउनु भनेको मूल्याङ्कन हटाउनु होइन; बरु मूल्याङ्कनलाई वर्षको अन्त्यबाट निकालेर दैनिक कक्षाकोठाभित्र ल्याउनु हो।परीक्षा हटेपछि अनुशासन हराउँदैन; सही मूल्याङ्कन भएमा विद्यार्थीको प्रगति अझ नजिकबाट देखिन्छ।
हाम्रो विद्यालय प्रणालीमा विद्यार्थीले कति बुझ्यो, कसरी सोच्यो, कहाँ अलमलियो र उसलाई कस्तो सहयोग चाहिन्छ भन्ने भन्दा पनि उसले कति अंक ल्यायो भन्ने कुराले बढी महत्व पाउँदै आएको यथार्थ हो ।आधारभूत तहका बालबालिका, विशेषगरी कक्षा १ देखि ५ सम्मका विद्यार्थी, अनुभव, खेल, कथा, चित्र, संवाद, अनुकरण, समूहकार्य र दोहोर्याइएको अभ्यासबाट सिक्ने उमेरमा हुन्छन्। यस्तो अवस्थामा वर्षमा दुई-तीन पटक लिइने लिखित परीक्षाले उनीहरूको समग्र सिकाइ, रुचि, व्यवहार, आत्मविश्वास र क्षमता देखाउन सक्दैन।बालबालिकाको सिकाइ उत्तरपुस्तिकामा मात्र होइन, उनीहरूको बोली, व्यवहार, प्रयास र सहभागितामा पनि देखिन्छ।
यही सन्दर्भमा CAS अर्थात निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली को महत्व बढेको छ। यसको अर्थ परीक्षा नै नगर्ने होइन; बरु मूल्याङ्कनलाई दैनिक शिक्षण-सिकाइ प्रक्रियाकै अभिन्न भाग बनाउने हो। विद्यार्थीले आजको पाठमा के बुझ्यो, कुन ठाउँमा अलमलियो, कसले प्रश्न सोध्यो, कसले साथीलाई बुझायो, कसलाई थप अभ्यास चाहियो र कसलाई उपचारात्मक सहयोग आवश्यक छ भन्ने कुरा नियमित रूपमा पहिचान गर्ने प्रक्रिया नै निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली हो।निरन्तर मूल्याङ्कन विद्यार्थीलाई जाँच्ने होइन, विद्यार्थीलाई बुझ्ने प्रक्रिया हो।
निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको शैक्षिक दर्शन “सिकाइका लागि मूल्याङ्कन” हो। यसको उद्देश्य विद्यार्थीलाई पास वा फेलको वर्गमा राख्नु होइन, उसको सिकाइ कहाँ पुगेको छ र अब कहाँ लैजानुपर्छ भन्ने थाहा पाउनु हो। अन्तर्राष्ट्रिय रूपमा पनि निर्माणात्मक मूल्याङ्कनलाई विद्यार्थीको अवस्था बुझ्ने, समयमै प्रतिक्रिया दिने र शिक्षण रणनीति सुधार्ने माध्यमका रूपमा लिइन्छ। अन्तर्राष्ट्रिय अभ्यासहरुले पनि मूल्याङ्कनलाई अन्तिम नतिजा निकाल्ने साधनभन्दा पनि सिकाइ सुधार्ने प्रक्रिया मान्नुपर्नेमा जोड दिएका छन्।असली मूल्याङ्कन त्यही हो, जसले अर्को दिनको शिक्षणलाई अझ राम्रो बनाउँछ।
नेपालको पाठ्यक्रम विकास केन्द्रले पनि आधारभूत तहमा कक्षागत गतिविधि, कार्यसञ्चयिका, मौखिक प्रस्तुति, परियोजना कार्य, प्रयोगात्मक अभ्यास, सहभागिता र उपचारात्मक शिक्षणलाई मूल्याङ्कनको अंगका रूपमा जोड दिएको छ। यसले स्पष्ट संकेत गर्छ कि अब मूल्याङ्कन केवल प्रश्नपत्र र उत्तरपुस्तिकामा सीमित रहनु हुँदैन। विद्यार्थीले के गर्यो, कसरी गर्यो, कहाँ गल्ती गर्यो र सुधारपछि कति अगाडि बढ्यो भन्ने कुरा पनि मूल्याङ्कनको प्रमाण हुनुपर्छ।मूल्याङ्कनको दायरा फराकिलो भयो भने विद्यार्थीको क्षमता पनि फराकिलो रूपमा देखिन्छ।
कक्षा ३ को एउटा नेपाली कक्षामा शिक्षकले “मेरो घर” शीर्षकमा तीन वाक्य लेख्न लगाउँछन्। केही विद्यार्थी तुरुन्तै लेख्न थाल्छन्, केही चित्र बनाउन थाल्छन्, केही चुप लागेर बस्छन्। परम्परागत दृष्टिले चुप लागेर बस्ने विद्यार्थीलाई “कमजोर” भनिन्थ्यो होला। तर निरन्तर मूल्याङ्कन गर्ने शिक्षकले उसलाई कमजोर होइन, शब्द भण्डार र आत्मविश्वास चाहिएको विद्यार्थीका रूपमा हेर्छन्। त्यसपछि शिक्षकले उसलाई जोडीमा राख्छन्, साथीले “घर”, “आमा”, “कोठा”, “बगैँचा” जस्ता शब्द सुझाउँछन र विद्यार्थीले पहिलो वाक्य लेख्न थाल्छ।यही क्षणमा मूल्याङ्कन पनि भयो, सहयोग पनि भयो र सिकाइ पनि अगाडि बढ्यो।
गणित कक्षामा पनि यस्तो मूल्याङ्कन अत्यन्त उपयोगी हुन्छ। कक्षा ३ मा भागसम्बन्धी पाठको लिखित अभ्यासमा केही विद्यार्थीले भागफल सही लेख्न नसक्लान् तर १२ वटा सिमीका दाना ३ जना साथीलाई बराबर बाँड्न लगाउँदा उनीहरूले सही रूपमा बाँड्न सक्छन्। यसले देखाउँछ कि उनीहरूले अवधारणा आंशिक रूपमा बुझेका छन्, तर गणितीय प्रक्रिया लेख्ने सीपमा अभ्यास चाहिएको छ। परम्परागत परीक्षाले यस्तो विद्यार्थीलाई “कमजोर” देखाउन सक्छ, तर निरन्तर मूल्याङ्कनले उसको सिकाइको वास्तविक अवस्था देखाउँछ।गल्ती सधैँ असफलता होइन; कहिलेकाहीँ त्यो सिकाइ कहाँ अड्किएको छ भन्ने संकेत हो। कक्षा ४ को नेपाली लेखन अभ्यासमा पनि यस्तै प्रक्रिया लागू हुन्छ। विद्यार्थीलाई चित्र हेरेर छोटो अनुच्छेद लेख्न लगाउँदा धेरैले विचार राम्रो राखे पनि वाक्य क्रम, विराम चिह्न र शब्द छनोटमा गल्ती गर्न सक्छन्। यस्तो अवस्थामा शिक्षकले अन्तिम परीक्षासम्म पर्खनु पर्दैन। अर्को दिन नै जोडीमा वाक्य सच्याउने, समूहमा नमुना अनुच्छेद पढ्ने, चित्रबाट शब्दसूची बनाउने र त्यसबाट वाक्य निर्माण गर्ने अभ्यास गराउन सक्छन्।मूल्याङ्कनले समस्या मात्र देखाउनु हुँदैन; समाधानतर्फको बाटो पनि खोल्नुपर्छ। कक्षा ५ को विज्ञान कक्षामा “पानीका अवस्था” पढाउँदा शिक्षकले विद्यार्थीलाई समूहमा विभाजन गर्न सक्छन्। एउटा समूहले बरफ पग्लिएको अवलोकन गर्छ, अर्को समूहले पानी उम्लँदा बाफ बनेको चित्र बनाउँछ, अर्को समूहले दैनिक जीवनका उदाहरण खोज्छ, र अर्को समूहले ठोस, तरल र ग्यासको तालिका तयार गर्छ। यस क्रममा शिक्षकले कसले अवलोकन गर्यो, कसले प्रश्न सोध्यो, कसले साथीलाई बुझायो र कसले अवधारणा गलत बुझ्यो भनेर नोट गर्न सक्छन्।जब कक्षाको गतिविधि नै मूल्याङ्कनको स्रोत बन्छ, सिकाइ पनि स्वाभाविक हुन्छ र मूल्याङ्कन पनि अर्थपूर्ण हुन्छ।
निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीले बालबालिकाको बहुआयामिक क्षमता देखाउँछ। कुनै विद्यार्थी लिखित उत्तरमा कमजोर देखिन सक्छ, तर ऊ समूहमा राम्रोसँग बोल्न, साथीलाई बुझाउन, चित्र बनाउन, स्थानीय उदाहरण दिन वा सामग्री प्रयोग गरेर अवधारणा देखाउन सक्षम हुन सक्छ। परम्परागत परीक्षाले यस्ता क्षमतालाई प्रायः बेवास्ता गर्छ, तर निरन्तर मूल्याङ्कनले मौखिक अभिव्यक्ति, सहभागिता, रचनात्मकता, सहयोगी व्यवहार, समस्या समाधान क्षमता र आत्मविश्वासलाई पनि सिकाइको प्रमाण मान्छ।विद्यार्थीको क्षमता अंकमा मात्र सीमित हुँदैन; कहिलेकाहीँ उसको वास्तविक प्रतिभा कक्षाको संवादमै देखिन्छ। यो प्रणाली समावेशी शिक्षाका लागि पनि महत्वपूर्ण छ। नेपालका कक्षाकोठामा मातृभाषा फरक भएका, पहिलो पुस्ताका विद्यार्थी, लजालु स्वभावका बालबालिका, सिकाइ कठिनाइ भएका विद्यार्थी र घरबाट पर्याप्त शैक्षिक सहयोग नपाउने बालबालिका धेरै छन्। एउटै ढाँचाको लिखित परीक्षाले सबैलाई समान रूपमा न्याय गर्न सक्दैन। निरन्तर मूल्याङ्कनले शिक्षकलाई विद्यार्थीको पृष्ठभूमि, गति, भाषा, आत्मविश्वास र सिकाइ शैली बुझ्न सहयोग गर्छ।समान परीक्षा सबैका लागि न्यायपूर्ण नहुन सक्छ; तर संवेदनशील मूल्याङ्कनले प्रत्येक विद्यार्थीलाई देख्न सक्छ। राम्रो अवधारणा हुनु मात्र पर्याप्त छैन, कार्यान्वयनको धरातल बलियो हुनुपर्छ। नेपाली विद्यालयको वास्तविकता हेर्दा धेरै शिक्षक सीमित स्रोत, ठूलो कक्षा, बहुविषय जिम्मेवारी, प्रशासनिक काम र कहिलेकाहीँ बहुकक्षा शिक्षणको दबाबमा छन्। यस्तो अवस्थामा प्रत्येक विद्यार्थीको दैनिक विस्तृत अभिलेख राख्ने, धेरै फाराम भर्ने र कार्यसञ्चयिका मिलाउने काम शिक्षकका लागि थप बोझ बन्न सक्छ।यदि प्रणालीले शिक्षकलाई सहारा दिएन भने राम्रो नीति पनि कागजी भारी बन्न सक्छ।
निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई सरल र व्यवहारिक बनाउनुपर्छ। शिक्षकले हरेक दिन सबै विद्यार्थीको लामो अभिलेख राख्नुपर्छ भन्ने होइन। बरु पाठको लक्ष्यअनुसार ३-४ वटा स्पष्ट सूचक बनाएर अवलोकन गर्न सकिन्छ। प्रत्येक दिन एउटा समूह वा ५-७ विद्यार्थीलाई लक्षित गरेर छोटो नोट राख्न सकिन्छ। हप्ताको अन्त्यमा दोहोरिएका कठिनाइ टिप्न सकिन्छ, र अर्को हप्ता त्यसैका आधारमा उपचारात्मक गतिविधि गर्न सकिन्छ।निरन्तर मूल्याङ्कन जटिल फारामको नाम होइन, सरल तर नियमित अवलोकनको अभ्यास हो। दैनिक तीन सूचक मात्र हेर्ने, प्रत्येक दिन एक समूह वा केही विद्यार्थीलाई लक्षित गर्ने, हप्ताको अन्त्यमा मुख्य कठिनाइ टिप्ने, र अर्को हप्ता उपचारात्मक अभ्यास गर्ने शिक्षकका लागि सरल सूत्र हुन सक्दछ। उदाहरणका लागि, नेपाली कक्षामा “वाक्य पूरा भयो कि भएन”, “चित्रसँग सम्बन्धित शब्द प्रयोग भयो कि भएन” र “साथीको सुझावपछि सुधार भयो कि भएन” मात्र हेरे पुग्छ। यसरी मूल्याङ्कन छोटो, लक्ष्य-केन्द्रित र व्यवहारिक हुन्छ।सानो तर नियमित अभिलेख ठूलो तर अधुरो फारामभन्दा धेरै उपयोगी हुन्छ।
अहिलेको अवस्थामा सहयोगात्मक सिकाइ शिक्षण विधि अत्यन्त उपयोगी हुन्छ। यो विद्यार्थीलाई समूहमा बसाउने सामान्य अभ्यास मात्र होइन,साझा लक्ष्य, स्पष्ट भूमिका, पारस्परिक सहयोग, व्यक्तिगत जिम्मेवारी र समूहगत प्रतिबिम्बमा आधारित योजनाबद्ध शिक्षण विधि हो। यसमा शिक्षक एक्लो वक्ता हुँदैनन् र विद्यार्थी निष्क्रिय श्रोता हुँदैनन्। शिक्षक सहजकर्ता बन्छन्, विद्यार्थी सिकाइका सक्रिय सहभागी बन्छन्।सहयोगात्मक सिकाइले कक्षाकोठालाई शिक्षकको एकल मञ्चबाट विद्यार्थीको साझा सिकाइस्थलमा रूपान्तरण गर्छ।
सहयोगात्मक सिकाइ शिक्षण विधिले शिक्षकको कार्यबोझ कम गर्न सक्छ। परम्परागत कक्षामा शिक्षकले सबै प्रश्नको उत्तर आफैँ दिनुपर्छ, सबै कापी आफैँ जाँच्नुपर्छ र सबै गल्ती आफैँ सच्याउनुपर्छ। तर सहयोगात्मक सिकाइमा विद्यार्थीहरूले प्रारम्भिक तहमा एक-अर्काको काम हेर्छन्, गल्ती पत्ता लगाउँछन्, सुधारका सुझाव दिन्छन् र अन्त्यमा शिक्षकलाई प्रस्तुत गर्छन्। उदाहरणका लागि, अनुच्छेद लेखन अभ्यासमा समूहभित्र “पढ्ने साथी”, “लेख्ने साथी”, “सच्याउने साथी” र “प्रस्तुत गर्ने साथी” तोक्न सकिन्छ।विद्यार्थी सिकाइका सहयात्री बनेपछि शिक्षकको बोझ मात्र घट्दैन, सिकाइको गुणस्तर पनि बढ्छ।
सहयोगात्मक सिकाइ शिक्षण विधिले सहपाठी मूल्याङ्कनलाई व्यवस्थित बनाउन पनि सहयोग गर्छ। सहपाठी मूल्याङ्कन भनेको विद्यार्थीले साथीलाई अंक दिने होइन, साथीको सिकाइ सुधार्न सरल र सम्मानजनक प्रतिक्रिया दिने प्रक्रिया हो। कक्षा ३ मा विद्यार्थीले चित्र हेरेर तीन वाक्य लेखेपछि साथीले तीन कुरा हेर्न सक्छ, वाक्य पूरा छ कि छैन, चित्रसँग मिलेको छ कि छैन र शब्द छुटेको छ कि छैन। यस्तो सरल चेकलिस्टले विद्यार्थीलाई साथीको काम हेर्न मात्र होइन, आफ्नै काम सुधार्न पनि सिकाउँछ।साथीको काम हेर्दा विद्यार्थीले अरूलाई मात्र होइन, आफैँलाई पनि सिकाइरहेका हुन्छन्।तर सहपाठी मूल्याङ्कन सावधानीसहित प्रयोग गर्नुपर्छ। बालबालिकालाई “तिमीले गल्ती गर्यौ” भन्ने होइन, “यो वाक्य अझ स्पष्ट बनाउन सकिन्छ” भन्ने भाषा सिकाउनुपर्छ। उनीहरूलाई अंक दिने अधिकार दिनुभन्दा सुधारका सुझाव दिने अभ्यास गराउनुपर्छ। शिक्षकले प्रतिक्रिया कसरी दिने, साथीको आत्मसम्मान कसरी जोगाउने र सुझावलाई कसरी सकारात्मक बनाउने भन्ने नमुना देखाउनुपर्छ।सहपाठी मूल्याङ्कन संवेदनशील भएन भने सहयोग होइन, हिम्मत तोड्ने तरिका बन्न सक्छ।
उपचारात्मक शिक्षणमा पनि सहयोगात्मक सिकाइ शिक्षण विधि प्रभावकारी हुन्छ। निरन्तर मूल्याङ्कनबाट शिक्षकले थाहा पाउँछन् कि केही विद्यार्थीले “दशक र एकाइ” को अवधारणा बुझेनन्। त्यसपछि शिक्षकले ती विद्यार्थीलाई सानो समूहमा राखेर दाना, काठका टुक्रा, संख्या कार्ड वा स्थानीय सामग्री प्रयोग गरी पुनः अभ्यास गराउन सक्छन्। राम्रोसँग बुझेका विद्यार्थीलाई “सहयोगी साथी” को भूमिका दिन सकिन्छ। विद्यार्थीले विद्यार्थीलाई बुझाउँदा भाषा सरल हुन्छ, डर कम हुन्छ र प्रश्न गर्न सजिलो हुन्छ।उपचारात्मक शिक्षण तब प्रभावकारी हुन्छ, जब कमजोरीलाई लाज होइन, सिकाइको सामान्य चरण मानिन्छ। कक्षाकोठामा एक सरल चक्र अपनाउन सकिन्छ। पहिलो, शिक्षकले पाठको सिकाइ लक्ष्य स्पष्ट गर्छन्। दोस्रो, विद्यार्थीहरू जोडी वा समूहमा काम गर्छन्। तेस्रो, शिक्षकले ३-४ सूचकका आधारमा अवलोकन गर्छन्। चौथो, विद्यार्थीले साथीलाई सरल प्रतिक्रिया दिन्छन्। पाँचौँ, शिक्षकले मुख्य कमजोरी पहिचान गर्छन्। छैटौँ, अर्को दिन लक्षित उपचारात्मक अभ्यास गराइन्छ। सातौँ, छोटो पुनर्मूल्याङ्कनबाट सुधार भएको छ कि छैन हेरिन्छ।यही चक्रले मूल्याङ्कनलाई कागजबाट निकालेर कक्षाकोठाको जीवन्त अभ्यास बनाउँछ।
सहयोगात्मक सिकाइ सफल बनाउन समूह निर्माणमा पनि सावधानी चाहिन्छ। सबै जान्ने विद्यार्थी एउटै समूहमा र कमजोर विद्यार्थी अर्को समूहमा राख्दा सहयोगात्मक सिकाइको उद्देश्य पूरा हुँदैन। समूहमा क्षमता, लिङ्ग, भाषा, व्यवहार र आत्मविश्वासको विविधता मिलाउनुपर्छ। प्रत्येक विद्यार्थीलाई स्पष्ट भूमिका दिनुपर्छ र छोटो कार्य स्पष्ट तथा समयभित्र सम्पन्न हुने हुनुपर्छ।सही समूहले विद्यार्थीलाई जोड्छ, गलत समूहले खाडल झन् गहिरो बनाउँछ।
विद्यालय नेतृत्व र स्थानीय तहको भूमिका यहाँ अत्यन्त महत्वपूर्ण छ। प्रधानाध्यापकले शिक्षकलाई फाइल पूरा भयो कि भएन भनेर मात्र होइन, कक्षामा विद्यार्थीले कसरी सिकिरहेका छन् भनेर हेर्नुपर्छ। स्थानीय तहले नमुना चेकलिस्ट, सरल मूल्याङ्कन फाराम, शिक्षक सहजीकरण, क्लस्टर बैठक, अनुभव आदानप्रदान, नमुना कक्षा अवलोकन र MENTOR TEACHER प्रणालीको व्यवस्था गर्नुपर्छ। निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई विद्यालयमा एक्लो शिक्षकको जिम्मा बनाइयो भने यो टिकाउ हुँदैन।स्थानीय तहको भूमिका निरीक्षक बन्ने होइन, शिक्षकको सहयात्री बन्ने हो। अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। परीक्षा हटेपछि धेरै अभिभावकमा “अब बच्चाले पढ्दैन कि?” भन्ने चिन्ता आउन सक्छ। विद्यालयले अभिभावकलाई बुझाउनुपर्छ कि परीक्षा हटाउनु पढाइ हटाउनु होइन, बरु सिकाइलाई अझ नजिकबाट बुझ्ने प्रयास हो। अभिभावकलाई “५० मा ३०” भन्ने अंक मात्र दिनुभन्दा “बच्चाले पाठ पढ्न सक्छ, तर लेख्दा वाक्य पूरा गर्न अभ्यास चाहिन्छ” भन्ने गुणात्मक प्रतिक्रिया दिनुपर्छ।अंकले अभिभावकलाई सूचना दिन्छ, तर गुणात्मक प्रतिक्रियाले घरमा सहयोग गर्ने बाटो देखाउँछ।
अबको बाटो स्पष्ट छ। पहिलो, शिक्षक तालिमलाई सैद्धान्तिक भाषणमा सीमित नगरी कक्षाभित्र प्रयोग गर्न मिल्ने गतिविधि, चेकलिस्ट, रुब्रिक, सहपाठी प्रतिक्रिया र उपचारात्मक शिक्षणका नमुनासँग जोड्नुपर्छ। दोस्रो, मूल्याङ्कन फाराम छोटो, सरल र प्रयोगमैत्री हुनुपर्छ। तेस्रो, सहयोगात्मक सिकाइ शिक्षण विधिलाई नियमित कक्षा अभ्यास बनाइनुपर्छ। चौथो, विद्यालय अनुगमन फाइलमा होइन, कक्षाकोठाको सिकाइमा केन्द्रित हुनुपर्छ। पाँचौँ, अभिभावकसँग अंकभन्दा सिकाइ महत्वपूर्ण हो भन्ने संवाद निरन्तर चलाउनुपर्छ।सुधारको बाटो परीक्षा हटाउने निर्णयबाट सुरु हुन्छ, तर त्यसको सफलता कक्षाकोठाको अभ्यासमा निर्भर हुन्छ। निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको उद्देश्य विद्यार्थीलाई बारम्बार जाँच्नु होइन, बारम्बार बुझ्नु हो। शिक्षकले विद्यार्थीको गल्तीलाई सजायको आधार होइन, सुधारको संकेतका रूपमा लिनुपर्छ। विद्यार्थीले साथीलाई प्रतिस्पर्धी होइन, सिकाइ सहयात्रीका रूपमा हेर्नुपर्छ। विद्यालयले मूल्याङ्कनलाई अंक दिने काम होइन, सिकाइको बाटो देखाउने प्रक्रिया बनाउनुपर्छ।जब मूल्याङ्कनले डर होइन दिशा दिन्छ, तब मात्र शिक्षा साँच्चिकै बालमैत्री बन्छ। अब नेपालको आधारभूत शिक्षाले उत्तरपुस्तिका जाँच्ने संस्कृतिबाट बालबालिकाको सिकाइ बुझ्ने संस्कृतितर्फ पाइला चाल्नुपर्छ, यही नै परीक्षा खारेजीको वास्तविक अर्थ हो।
