
बर्दघाट, नवलपरासी ।
बर्दघाटका युवाहरूलाई एकै मञ्चमा जोड्दै नेतृत्व विकास, संवाद, सिकाइ र सामूहिक पहललाई प्रवर्द्धन गर्ने उद्देश्यले युवा कचहरीद्वारा आयोजित ‘चिया चौतारी’ कार्यक्रम सम्पन्न भएको छ। बर्दघाट नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ३० भन्दा बढी युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा युवाहरूका लागि साझा सिकाइ, छलफल र सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्न ‘युवा घर’ (Youth House) अवधारणाबारे विशेष प्रस्तुति गरिएको थियो। आयोजकका अनुसार युवाहरू भेला हुने, सिक्ने, आफ्ना विचार साझा गर्ने तथा सामुदायिक पहलहरू अघि बढाउने साझा थलोको रूपमा ‘युवा घर’ को परिकल्पना गरिएको हो।
प्रिम्स पाण्डेले युवा कचहरी तथा ‘युवा घर’ को अवधारणाबारे जानकारी गराउँदै यो पहल डेनमार्कमा सञ्चालन हुँदै आएको Lucerna Youth House मोडलबाट प्रेरित रहेको बताए। केही महिनाअघि डेनमार्कबाट आएको टोलीले बर्दघाटका युवाहरूसँग सञ्चालन गरेको कार्यशालाबाट प्राप्त सिकाइ र अनुभवलाई स्थानीय आवश्यकतासँग जोड्दै यो अवधारणा अघि बढाइएको उनले जानकारी दिए।
कार्यक्रमको सुरुवातमा सावाला पुरीले
परिचयात्मक सत्र सञ्चालन गर्दै सहभागी युवाहरूलाई एकअर्कासँग चिनजान गराएकी थिइन्। त्यसपछि युवा कचहरी अन्तर्गत गठन गरिएका Communication and Partners Team, Event Team तथा Structure and Fun
ding Team का भूमिका, जिम्मेवारी र आगामी कार्ययोजनाबारे जानकारी दिइएको थियो। सवाला पुरी, सुजाता चापागाईं र सृजना न्यौपानेले क्रमशः सम्बन्धित टोलीहरूको कार्यक्षेत्र तथा आगामी गतिविधिबारे प्रस्तुति दिएका थिए।
सो अवसरमा उपप्रमुख उपाध्यायले युवाहरू सकारात्मक सोच, स्पष्ट उद्देश्य र सामूहिक भावनाका साथ अघि बढ्नु नगरको लागि सकारात्मक संकेत भएको उल्लेख गर्दै यस्ता सिर्जनात्मक र रचनात्मक पहलहरूमा नगरपालिकाको सहयोग रहने विश्वास व्यक्त गरे।
प्रशिक्षक नारायण न्यौपानेले युवाहरूको सक्रियता, सिर्जनशीलता र नयाँ सोचको प्रशंसा गर्दै नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि यस्ता अभियानहरूलाई निरन्तरता दिनुपर्ने बताए। उनले आफू प्रशिक्षक तथा मार्गदर्शक (Mentor) का रूपमा आवश्यक सहयोग गर्न सधैं तयार रहेको धारणा व्यक्त गरे
त्यस्तै, SCDC का निर्देशक युवराज चापागाईंले युवाहरूको क्षमता विकास, नेतृत्व निर्माण र सामाजिक उत्तरदायित्व प्रवर्द्धनका क्षेत्रमा आफू तथा संस्थाको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी युवाहरूले समेत आफ्ना विचार, अपेक्षा तथा सुझावहरू प्रस्तुत गरेका थिए। युवाहरूलाई संगठित गर्दै नेतृत्व विकास, सामाजिक सहभागिता तथा सकारात्मक परिवर्तनका लागि साझा मञ्च निर्माण गर्ने उद्देश्यसहित युवा कचहरीले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
