
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २५ जेठ, २०८३
बर्दघाट नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र संस्थागत संरचनामा आमूल परिवर्तन गर्ने उद्देश्यका साथ एक वृहत् अन्तर्राष्ट्रिय र स्थानीय साझेदारीको घोषणा गरिएको छ। नगरपालिकाको जारी १८ औं नगरसभा को भव्य मञ्चलाई उपयोग गर्दै नगरपालिका, स्थानीय गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय दातृ निकायबीच ऐतिहासिक त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
बर्दघाट नगरपालिकाका ३४ वटै सामुदायिक विद्यालयहरूलाई समेट्ने गरी “बर्दघाटमा गुणस्तरीय शिक्षा र सक्रिय नागरिकता” नामक ३ वर्षे परियोजना कार्यान्वयनका लागि यो सम्झौता गरिएको हो। सन् २०२६ जुलाई १ देखि सुरु भई सन् २०२९ जुन ३० सम्म सञ्चालन हुने यस परियोजनाको कुल बजेट ५ करोड ९ लाख २२ हजार ५ सय ५२ रुपैयाँ रहेको छ।
नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको गरिमामय १८ औं नगरसभाको पहिलो बैठकको अवसरमा आयोजित विशेष समारोहमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौता पत्रमा बर्दघाट नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री शम्भुलाल श्रेष्ठ र साक्षीका रूपमा प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम पौडेलले हस्ताक्षर गर्नुभएको छ। त्यस्तै, स्थानीय कार्यान्वयन साझेदार संस्था समृद्ध समुदाय विकास केन्द्र नेपालको तर्फबाट संस्थाका अध्यक्ष श्री ठाकुर घिमिरे र साक्षीका रूपमा निर्देशक श्री युवराज चापागाईंले हस्ताक्षर गर्नुभएको छ। यसैगरी, अन्तर्राष्ट्रिय दातृ तथा प्राविधिक साझेदार संस्था ‘स्कोललिभ इ नेपाल’ (Skoleliv i Nepal), डेनमार्कको तर्फबाट निर्देशक एनी मेटी नोर्डफाल्कले यसअघि नै हस्ताक्षर गरिसक्नुभएको दस्तावेजलाई आज नगरसभाको मञ्चमा आधिकारिक रूपमा आदानप्रदान गरियो।
यस परियोजनाको वित्तीय व्यवस्थापन अत्यन्त पारदर्शी र बलियो स्थानीय स्वामित्वसहितको रहेको छ। कुल बजेटमध्ये मुख्य हिस्सा डेनमार्कको सिसु (CISU/Danish Civil Society Fund) मार्फत ‘स्कोललिभ इ नेपाल’ ले ब्यहोर्ने छ, जस अन्तर्गत ४ करोड ५५ लाख ५९ हजार ३२ रुपैयाँ समृद्ध समुदाय विकास केन्द्र नेपालमार्फत स्थानीय स्तरमा कार्यक्रम सञ्चालन, कर्मचारी व्यवस्थापन, समुदाय परिचालन र अनुगमनमा खर्च हुनेछ।
परियोजनाको सबैभन्दा सबल पक्ष स्थानीय सरकारको वित्तीय सहभागिता हो। बर्दघाट नगरपालिकाले आफ्नै स्वीकृत बजेट र सार्वजनिक वित्त प्रणालीमार्फत ३ वर्षसम्म ३४ वटै विद्यालयका शिक्षकहरूको तालिमका लागि कुल ५३ लाख ६३ हजार ५ सय २० रुपैयाँ सोझै लगानी गर्ने सम्झौता गरेको छ।
के-के हुनेछन् मुख्य कार्यक्रमहरू?
यस ३ वर्षे परियोजनाले परम्परागत शिक्षण विधिलाई विस्थापित गर्दै कक्षाकोठामा सामूहिक सहभागिता र समालोचनात्मक चेत बढाउन सहकार्यात्मक सिकाइ पद्धति विकास गर्ने लक्ष्य राखेको छ। शिक्षकहरूलाई निरन्तर प्राविधिक सहयोग पुर्याउन नगरपालिकाको शिक्षा नीतिमै मेन्टर शिक्षक प्रणाली एकीकृत गरिनेछ। साथै, विद्यालय व्यवस्थापन समिति,शिक्षक-अभिभावक संघ र बाल क्लबहरूलाई सामुदायिक अंक तालिका जस्ता बिधिमार्फत सुदृढ र सक्रिय बनाउँदै विद्यालयको लोकतान्त्रिक सहभागिता सुधार्ने योजना छ। यसका साथै स्थानीय मूल्यांकन तथा निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली मा सुधार गर्ने, कम उपस्थिति भएका वा आर्थिक-सामाजिक रूपमा जोखिममा रहेका बालबालिकाका परिवारसँग संवादमूलक कार्ययोजना बनाउने र सुदृढ समन्वयका लागि नगरपालिकाको शिक्षा शाखा समृद्ध समुदाय को डेस्क स्थापना गर्ने रणनीति तय गरिएको छ।
“यो बर्दघाटको शैक्षिक इतिहासकै एउटा कोशेढुङ्गा हो”-नगर प्रमुख श्रेष्ठ
सम्झौता पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले स्थानीय सरकार विद्यालय शिक्षा सुधारका लागि कति प्रतिबद्ध छ भन्ने कुरा आजको साझेदारीले देखाएको बताउनुभयो। “हामी केवल भौतिक पूर्वाधारमा मात्र होइन, हाम्रा बालबालिकाको चेतना र शिक्षाको गुणस्तर सुधार्न अन्तर्राष्ट्रिय स्तरको शिक्षण पद्धति स्थानीयकरण गर्दैछौं। यसमा नगरपालिकाले बजेट नै साझेदारी गरेर अपनत्व लिएको छ,” उहाँले भन्नुभयो।
त्यस्तै, समृद्ध समुदाय विकास केन्द्रका अध्यक्ष ठाकुर घिमिरेले नगरसभाकै ऐतिहासिक मंचबाट यो सम्झौता हुन सम्पूर्ण बर्दघाटबासीका लागि गौरवको कुरा भएको उल्लेख गर्नुभयो। उहाँले दातृ निकाय र नगरपालिकाको विश्वासलाई पूर्ण रूपमा कदर गर्दै पूर्ण पारदर्शिता, जवाफदेहिता र बाल अधिकारका मापदण्डहरू पालना गरेर हरेक विद्यालयको कक्षाकोठासम्म परिवर्तन महसुस गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यो परियोजनाले आगामी दिनमा देशकै लागिसमेत शिक्षाको अनुकरणीय “बर्दघाट मोडल” तयार गर्ने अपेक्षा लिइएको छ।
