
मुगुको कर्णाली माबिमा शैक्षिक सत्र २०८३ का लागि बाल क्लब गठन, सदन विभाजन, इको क्लब गठन तथा कक्षा क्याप्टेन छनोट लगायतका कार्यक्रमहरू सम्पन्न गरिएको छ।
विद्यालयका प्रधानाध्यापक को नेतृत्वमा आयोजित कार्यक्रम विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा अतिरिक्त क्रियाकलापप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमअन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न सदनमा विभाजन गरिएको थियो। साथै बाल क्लब तथा इको क्लब गठन गरी विद्यार्थीहरूलाई सामाजिक, शैक्षिक तथा वातावरण संरक्षणसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउन प्रेरित गरिएको थियो। विभिन्न कक्षाका कक्षा क्याप्टेन छनोट गर्दै नेतृत्व विकासमा समेत जोड दिइएको विद्यालयले जनाएको छ।
विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै सामूहिक रूपमा कार्य गर्ने क्षमतामा वृद्धि गर्ने विश्वास लिइएको छ। कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रधानाध्यापक चन्द्र प्रकाश बढुवालले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउँदै आगामी दिनमा अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी दिए।
विद्यालयका अनुसार कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
