
रास्वपा मुगुको जिल्ला सभापतिमा बिर्खबहादुर मल्ल विजयी
मुगु, जेठ २७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको प्रथम जिल्ला अधिवेशनबाट बिर्खबहादुर मल्ल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। निर्वाचनमा उनले ४३ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी मनोज शाहीले ६ मत प्राप्त गरे।
त्यसैगरी, उपसभापति पदमा राजेन्द्र शाही ३५ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी विजयकुमार मल्लले १३ मत प्राप्त गरेका थिए।
सचिव पदमा रामु बिक २५ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी नन्दबहादुर मल्लले २१ मत प्राप्त गरे। सहसचिव पदमा समाज हमाल निर्विरोध निर्वाचित भएका छन्।
सदस्य पदमा जयधर्म जैसी ३९ मत, गोर्खबहादुर कुमाई ३० मत र लालचन्द्र रोकाया ३० मतसहित निर्वाचित भएका छन्। कोषाध्यक्ष पद भने पछि मनोनयनमार्फत चयन गरिने रास्वपा मुगुले जनाएको छ।
आइतबार उद्घाटन भएको जिल्ला अधिवेशनमा सहसचिव बाहेक अन्य पदमा सहमति जुट्न नसकेपछि तीन दिनपछि मंगलबार राति निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो।
