गुगल म्यापका कारण किसानले ऋण नपाएको भन्दै सांसद विक्रम खनालद्वारा सरकारको ध्यानाकर्षण

बैंकमा ऋण लिन जाँदा गुगल नक्सामा भारत देखिन्छ भन्दै सीमाना नजिकको जग्गा धितो स्वीकार गरिँदैन। त्यसैले किसानहरू साहुसँग ऋण लिन बाध्य छन् र मिटरब्याजको मारमा परिरहेका छन् ।

गुगल म्यापका कारण किसानले ऋण नपाएको भन्दै सांसद विक्रम खनालद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रम खनालले संसदमा आफ्नो पहिलो सम्बोधन गर्दै सीमा क्षेत्रका बासिन्दा र किसानले भोग्नुपरेको गम्भीर समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ। ‘जेन्जी’ लगायतका लोकतान्त्रिक आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले आफूलाई विजयी गराउने मतदाताप्रति आभार प्रकट गर्नुभयो।

सम्बोधनका क्रममा सांसद खनालले सीमा क्षेत्रका नागरिकले बैंकबाट ऋण लिन खोज्दा अनौठो प्राविधिक समस्या झेल्नुपरेको खुलासा गर्नुभयो। गुगल नक्सा (Google Maps)मा सीमा नजिकैको नेपाली जग्गा भारतमा देखिने बहाना बनाउँदै बैंकहरूले धितो स्वीकार नगरेको उहाँको भनाइ छ। यसले गर्दा किसानहरू साहुसँग महँगो ब्याजमा ऋण लिन र मिटरब्याजको चक्रमा फस्न बाध्य भएको उहाँले बताउनुभयो।

त्यस्तै, उहाँले उखु किसानहरू चिनी मिलबाट पाउनुपर्ने भुक्तानीका लागि वर्षौँदेखि “भोलि”भन्ने शब्दबाट पीडित भइरहेको विषय उठाउनुभयो। मिल सञ्चालकले सधैँ ‘भोलि’ भन्दै फर्काउने तर त्यो दिन कहिल्यै नआउने गरेको भन्दै उहाँले किसानको पीडाप्रति सहानुभूति प्रकट गर्नुभयो। साथै, खेतीको सिजनमा पनि किसानले मल नपाएर सास्ती खेप्नुपरेकोमा उहाँले रोष प्रकट गर्नुभयो।

सांसद खनालले सरकारलाई सेवा प्रवाह प्रभावकारी बनाउन र सीमा क्षेत्रका नागरिकको समस्या तत्काल समाधान गरी सुशासनको अनुभूति दिलाउन माग गर्नुभएको छ। “यो पीडा कहिलेसम्म?” भन्दै उहाँले संसद मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल