‘एकघर एक करेसाबारी’ तालिम सुरु


‘एकघर एक करेसाबारी’ तालिम सुरु
  • लाल मोहर
  • बैशाख २२, २०८२

बर्दघाट नगरपालिकाको सहयोगमा तथा पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लि.को आयोजनामा नगर प्रमुख श्री शम्भुलाल श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा “एकघर एक करेसाबारी” सम्बन्धी दुई दिने तालिम कार्यक्रमको समुद्घाटन गरिएको छ।

उक्त कार्यक्रम नगर प्रमुखको १२ अभियान अन्तर्गत सञ्चालित “आत्मनिर्भर परिवार, समृद्ध नगर” अभियानसँग समन्वय गर्दै सुरु गरिएको हो। तालिममा पञ्चनगर क्लष्टरका विभिन्न वडाबाट आएका महिलाहरूको सक्रिय सहभागिता रहेको छ।

समुद्घाटन समारोहमा बोल्दै नगर प्रमुख श्रेष्ठले भने, “एकघर एक करेसाबारी अभियानले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने मात्र होइन, महिलाहरूलाई आत्मनिर्भर बनाउने महत्वपूर्ण आधार पनि तयार गर्छ।” उहाँले नगरपालिकाबाट यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

तालिममा सहभागी महिलाहरूलाई जैविक खेती, मौसमी तरकारी उत्पादन, मल व्यवस्थापन, सिँचाइ प्रणाली र घरेलु करेसाबारीको व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ। कार्यक्रमले नगरका सबै वडामा क्रमशः विस्तार गर्दै जाने योजना रहेको आयोजक संस्थाले जनाएको छ।