आवासीय विद्यालयको बेहाल: जस्ताको टहरामुनि विद्यार्थीको कष्टकर पढाइ


आवासीय विद्यालयको बेहाल: जस्ताको टहरामुनि विद्यार्थीको कष्टकर पढाइ

मुगु  हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका–७ मा सञ्चालित एकमात्र आवासीय विद्यालय पर्याप्त भौतिक पूर्वाधार नहुँदा संकटमा परेको छ, जहाँ निम्न माध्यमिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरू वर्षौंदेखि जस्ताको टहरामुनि बसेर कष्टकर र असुरक्षित वातावरणमा पढ्न बाध्य छन्। दुर्गम बस्तीका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार बालबालिकालाई शिक्षा दिने उद्देश्यले स्थापित यस विद्यालयमा बुम्च, ख्याल्च, सिरुपाट, गोइलपानी, पारपानी र तारापानीलगायतका विकट क्षेत्रबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गर्दछन्। तर, उपयुक्त भौतिक संरचना नहुँदा बालसुन्दरी विष्टजस्ता सयौँ विद्यार्थीहरू मौसमको प्रतिकूलता झेल्दै जस्ताकै टहराभित्रै कोचिएर भविष्य खोज्न विवश छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छक्कबहादुर विष्ट र प्रधानाध्यापक रत्नराज चौलागाईका अनुसार कक्षाकोठाको चरम अभावकै कारण बाध्य भएर विद्यार्थीलाई जस्ताको टहराभित्र राखेर पठनपाठन सञ्चालन गर्नुपरिरहेको हो। यो दयनीय अवस्था सुधार्न स्थानीय अभिभावक, नागरिक अगुवा र वडा सदस्यहरूले कर्णाली प्रदेश सरकार, शिक्षा मन्त्रालय र गाउँपालिकासँग तत्काल बजेट व्यवस्था गरी सुरक्षित भवन निर्माण गरिदिन पटक–पटक माग गर्दै आएका छन्। यद्यपि, दुर्गमको शिक्षा क्षेत्रमा देखिएको यो गम्भीर समस्या समाधानका लागि हालसम्म सम्बन्धित कुनै पनि सरोकारवाला निकायबाट ठोस र सकारात्मक पहल हुन नसकेको स्थानीयवासीको गुनासो छ।

लेखकको बारेमा

  • उहाँ मोहन शाही Lalmohor.com का मुगु जिल्ला प्रतिनिधि हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल