छैटौं रारा ट्रेल रन: उपाधिमा जुम्लाको ‘क्लिन स्वीप’


छैटौं रारा ट्रेल रन: उपाधिमा जुम्लाको ‘क्लिन स्वीप’

मुगु,कर्णाली – मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा आयोजित छैटौं रारा ट्रेल रन प्रतियोगितामा जुम्लाका खेलाडीहरूले सानदार प्रदर्शन गर्दै महिला र पुरुष दुवै विधाको मुख्य उपाधि हात पारेका छन्। १६ किलोमिटरको कठिन दूरी पुरुषतर्फ जुम्लाका दल बहादुर कुँवरले १ घण्टा १५ मिनेटमा पूरा गरी पहिलो स्थान हासिल गरे भने महिलातर्फ जुम्लाकै सुनमाया बुढाले १ घण्टा १३ मिनेट ५० सेकेन्डको उत्कृष्ट समयसहित च्याम्पियन बनिन्। ५०० भन्दा बढी स्वदेशी तथा विदेशी धावकहरूको उत्साहजनक सहभागिता रहेको यस प्रतिस्पर्धामा दुवै विधाका विजेताहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

नेपाली सेनाको रारास्थित गणले विगत ५ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको यस प्रतियोगिताको उद्घाटन उत्तर पश्चिम पृतनापति दिपकजंग शाह र प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले संयुक्त रूपमा गरेका थिए। प्रतियोगितामा ५ किलोमिटर दौडतर्फ देबिराज रोकाया र मनिषा रावल प्रथम हुन सफल भए। खेलकुदलाई स्थानीय संस्कृतिसँग जोड्दै आयोजना गरिएको यस कार्यक्रममा सेनाको खुकुरी नृत्य र मुगुको रैथाने कला-संस्कृति झल्किने विविध सांस्कृतिक प्रस्तुतिहरूले राराको किनारलाई थप उत्सवमय र आकर्षक बनाएका थिए।

समुद्र सतहबाट २,९९० मिटरको उचाइमा अवस्थित ‘स्वर्गकी अप्सरा’ रारा ताल केवल एक प्राकृतिक जलाशय मात्र नभई नेपालको राष्ट्रिय गौरव र कर्णालीको समृद्धिको जीवन्त प्रतीक हो। १०.८ वर्ग किलोमिटरमा फैलिएको यो नीलो कञ्चन ताल र यस आसपासको दुर्लभ जैविक विविधताले विश्वलाई नै मन्त्रमुग्ध पार्ने सामर्थ्य राख्छ। यस्ता साहसिक खेलकुद प्रतियोगिताहरूले राराको अद्वितीय सौन्दर्यलाई विश्वमञ्चमा सशक्त रूपमा उजागर गर्दै नेपाललाई ‘स्पोर्ट्स टुरिजम’ को उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्न र स्थानीय अर्थतन्त्रको कायापलट गर्न कोसेढुङ्गा सावित भएका छन्।

लेखकको बारेमा

  • उहाँ मोहन शाही Lalmohor.com का मुगु जिल्ला प्रतिनिधि हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल